बर्जुवाहरुको विकृत छाँया कम्युनिष्ट सत्ताका प्रधानमन्त्री र नेताहरुको अनुहारमा देखियो

स्वागत नेपाल, संयोजक स्वतन्त्र राष्ट्रिय अभियान
समाज अनलाइन
;
३० मंसिर २०७६, सोमबार १४:५१

नेपालको पत्रकारीता क्षेत्रमा झण्डै तीन दशक बिताएका स्वागत नेपाल कानुनव्यवसाय पेशा दुई दशकको अनुभव छ । यतिखेर नेपालको परम्परागत राजनीतिक पद्धती युवा पुस्ताले हाक्नुपर्छ भनेर स्वतन्त्र राष्ट्रिय अभियानको नेतृत्व गर्दै अघि बढ्दै हुनुहुन्छ । प्रस्तुत छ प्रतिस्पर्धा साप्ताहिकमा प्रकाशित उनै नेपालको अन्तर्वार्ताः

अहिलेको नेपालको आजको स्थितिमा राजनीतिक समिक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
–यो समिक्षा चाहिँ ऐतिहासिक दृष्टिबाट गर्ने एउटा, अर्को ऐतिहासिक दृष्टिबाट होइन कि सामुहिक अवस्था र टिप्पणीबाट गर्ने फरक–फरक हुँदो रहेछ । हामी यो अहिले प्रिन्टमै कुरा गरिरहेका छौं नि यहि कारणले नै मैले भनिरहेको छु । अहिलेको सहि समयको विन्दुगत विश्लेषण एउटा इतिहाँसकारले कसरी गर्ला ? इतिहासकारले ग¥यो भने नेपालको इतिहासको अहिलेको समय जुन छ, यो समय चाहिँ अत्यन्तै सकारात्मक रुपले इतिहासकारहरुले विश्लेषण गर्नेछ । इतिहास यस्तो झुटो लेखिनेछ, तर सत्य त्यो होइन । यो आजै हामीले भनिराछौं कि इतिहास कानुनले गर्दा अत्यन्तै राम्रो किनकि धेरै लामो समयको निरंकुशता, राजनैतीक निरंकुशताको अन्त्य भएको छ । जनताले चुनेको व्यक्तिहरु सरकारको, राष्ट्रको प्रमुख भएका छन् । धेरै कुराहरु मुखर रुपमा बाहिर आएका छन्, मूर्त रुपमा अगाडि आएका छन् जस्तो लाग्छ । तर, इतिहासको सबैभन्दा धेरै ठूलो गर्तमा राखिएको भ्रमले छोपिएको, र जनतालाई सबैभन्दा धेरै ठूलो धोका भएको समय अहिले नै हो । अहिले जुन कम्युनिष्ट नाम गरेका पार्टीहरु सरकारमा छन् यिनिहरुले हामीहरुलाई भनेको व्यवस्था यो थिएन । यो त एकदमै भ्रमपूर्ण र अत्यन्तै विसंगत वुर्जुर्वाहरुले संचालन गर्ने विकृत संसदीय व्यवस्थाको पनि चरम रुप अहिले जे छ यसैलाई लोकतन्त्र हो भनेर यीनिहरुले नै भनिरहेका छन् । जो हामीलाई यो व्यवस्थाकै विरुद्धमा लड्न उठाउनेहरु थिए । अहिले त्यही व्यवस्था लादेर जनतालाई धोका दिएको राजनीतिक अवस्था छ ।

भनेपछि कम्युनिष्ट, वुर्जुर्वाहरुले संचालन गर्ने विकृत सत्ताको अभ्यास अहिले गरिरहेका छन् ?
हो, अहिले गरिरहेका छन् । बुर्जुवाहरुले सञ्चालन गरेको विकृत सत्ताको अनुहार कम्युनिष्ट प्रधानमन्त्री र नेताहरुमा देखिएको छ ।

जनताको विश्वास पानी जस्तै तरल भएको अवस्था हो ?
कसैको भित्री आत्मदेखि नै विश्वास गर्ने र अन्तिम विश्वासको रुपमा मानिरहने अर्थात देवत्व करण गर्ने जसलाई भनिन्छ, त्यो शैलीको विश्वास अझै छ । यसलाई पग्लिएको भन्न मिल्दैन । एउटा बर्गको मात्रै विश्वास पग्लेर पारो जस्तो बनेको छ । बौद्धिक बर्ग, मध्यमबर्ग, जो शिक्षित छन्, राजनीतिक सामाजिक अवस्थाको विश्लेषण गर्न सक्दछन्, उनीहरु चाही पग्लेर पारो जस्तो बनेका छन् । आम सर्वसधारणलाई हे¥यौं भने यस्तो धोका, गद्धारी, विश्वासघात, बेईमान र राष्ट्रघात हुँदा पनि जनताको विश्वास अझै चट्टान बनेर उभिएरहेको छ । जुन दुखद हो । विश्वास गरेपछि साँच्चै गर्ने, कल्लाई विश्वास गरेको छु भनेर कहिल्यै समीक्षा नगर्ने परिपाटी नेपाली समाजमा छ । प्रेमी–प्रेमिकालाई झै विश्वास गर्ने अनि प्रेमी प्रेमिकाको माया र विश्वासलाई घात गरे झै राजनीतिक नेतृत्वले घात गरिरहेका छन् । बौद्धिक जमातलाई पहिले देखि नै झुक्यानमा पारिदैछ भन्ने थाहा थियो । तर, आम जनतालाई थाहा थिएन । जनतालाई नयाँ शासन प्रणाली भनेर फकाएर पुरानै ढर्राको बहुदलीय धोकाघडी शैलीको विकृततन्त्र ल्याउने भन्ठानेको भए जनताले उहिल्यै ठीक साइजमा ल्याउथे, अझै झुक्याइरहेका छन् । जेलनेल भोगेर, क्रान्ति गरेर, रगत बगाएर आएको शक्ति हुनाले घात गर्दैनन् भन्दै पूर्ण रुपेण विश्वास गरिरहेको अवस्था छ । यतिबेला नेपाली जनता झूठलाई अन्तिम सत्य भनेर विश्वास गरिरहेका छन् ।

जनताले राजनीतिप्रतिको आफ्नो विश्वासलाई समीक्षा गर्ने बेला आएको भन्ने तपाईको आशय हो ?
एकदमै हो । एउटा भनाई छ, ‘म विश्वासमाथि नै विश्वास गर्दिन’ । हामीले आफ्ना विश्वासहरुमाथि समीक्षा गर्नुपर्दछ । ऐतिहासिक कालक्रमिक राजनीतिक विकासमाथि ठूलो समीक्षात्मक ढंगले हेरियो भने मात्रै एउटा निष्कर्षमा पुग्न सकिन्छ । त्यसकारण हरेक नेपाली जनताले आफ्नो विश्वासप्रतिको समीक्षा गर्नु एकदमै जरुरी छ । हामीले पटक पटक हाम्रै नेताहरुबाट पाएको धोकाका कारण हामीले अब आफ्ना विश्वासहरुको निर्ममतापूर्वक समीक्षा गरिनुपर्दछ । जसरी पढेलेखेकै मानिसले सचेततापूर्वक भ्रष्टाचार गर्दछ, नपढेको एक जनाले पनि भ्रष्टाचार गर्दैन । जनताले जाने बुझेका, विद्धान भनेर नेताहरुलाई विश्वास गरेका हुन् । उनीहरुले नै यो सब धोका दिएका छन् । त्यसैले अब समीक्षा मात्रै गरेर पुग्दैन । समीक्षा र विश्लेषण मात्रै गरेर बस्ने पनि एउटा रोग हो । विश्लेषण र समीक्षाले कही पनि पु¥याउँदैन । यहाँ त एक्सन जरुरी छ । जसले जनताले घृणा गरेको शासन व्यवस्था जनतालाई फकाएर, ढाँटेर, छोपेर फसाए त्यसको समीक्षा मात्रै काफी हुँदैन । समीक्षा गर्दै फटाहा र धोका दिनेहरुलाई कारवाही गर्ने निष्कर्ष र फैसला पनि गर्दै जानुपर्दछ ।

जनताले चाहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र होइन भन्ने तपाईको आशयबाट बुझिन्छ, खास जनताले चाहेको शासन व्यवस्था चाही के हो ?
पहिलो कुरा सोझो रुपमा जनताबाट चुनिएको व्यक्तिले जनतामाथि शासन गर्नुपर्दछ भन्ने हो । त्यसलाई प्रत्यक्ष प्रजातन्त्र भनिन्छ । अहिलेको प्रत्यक्ष प्रजातन्त्र हो । अहिलेको शासन व्यवस्था जित्नेको नाममा हार्नेले शासन गर्ने व्यवस्था हो । संवैधानिक हिसाबले यो शासन व्यवस्था अल्पतन्त्र हो, ओलीगार्की हो । यहाँ एउटा निर्वाचन क्षेत्रमा १० जना उम्मेदवार हुन्छन्, नौ जनाले १० १० प्रतिशत भोट ल्याउँछन् । हार्नेहरुको भोट ८१ प्रतिशत हुन्छ, जित्नेको भोट जम्मा १९ प्रतिशत हुन्छ । एउटै पनि उम्मेदवार ५१ प्रतिशत अर्थात बहुमतले जितेको छैन र संविधानमै त्यस्तो व्यवस्था छैन । नेपालको संविधान २०७२ मा जनताको बहुमत पाउने व्यक्ति बिजयी हुन्छ भनेर कही लेखिएको छैन, पहिलो हुने व्यक्ति बिजयी हुनेछ भनेर लेखिएको छ । यो भनेको जाने बुझिकन रचिएको साम, दाम, दण्ड भेद प्रयोग गरेर सत्ता हत्याउने शासन व्यवस्था हो । त्यसैले यो विकृत शासन व्यवस्था भनिएको हो । यसले नै जुनबेला मन लाग्यो त्यही बेला विदेशीहरुले सांसदहरुलाई प्रयोग गरेर हाम्रो देशको सरकार ढालिरहेन र नयाँ बनाइरहने गर्दछ । यो सोझो सार्वभौम सत्तामाथि आक्रमण गरिरहने हुन्छ । हाम्रो जस्तो देशका लागि यस्तो शासन व्यवस्था सधैं अफापसिद्ध हुन्छ । नागरिकको अपेक्षा के थियो भने कहिल्यै पनि सांसदहरुले सरकार ढाल्न नपाउने, सांसदहरु मन्त्री प्रधानमन्त्री हुन नपाउने राम्रो राम्रो नीति निर्माण गर्ने र कानुन बनाउने भन्ने नै हो ।

संविधानप्रति, शासकव्यवस्थाप्रति तपाईले अलिकति असन्तुष्टि जस्तो, चित्त नबुझेको जस्तो कुरा गर्नुभो, संविधान नै नमान्ने एउटा शक्ति छ, आम जनतादेखि बौद्धिक तहसम्म शासनपद्धती र सरकारका कामकारबाहीसम्म आलोचना भइरहेको छ, अवको निकास के त ?
– यो त एकदमै सिधै छ । यो व्यवस्था नयाँ व्यवस्था नै होइन । ‘एक्सिलेन्ट डेमोक्रेसी डजन्ट मिन द एब्सेन्स अफ मोनार्क’ अर्थात पूर्ण लोकतन्त्र भनेको राजाको अनुपस्थिति मात्र होइन । राजा हटेर गणतन्त्र आयो, यो लोकतन्त्र हुन सक्छ भन्ने होइन, यो लोकतन्त्रै होइन । यो त अल्पतन्त्र हो । त्यसकारण जनता अझैपनि साँचो प्रजातन्त्रकै पक्षमा छ । कुरा नबुझेकै एउटा पङ्ति हुन्छ । तर एकचोटी बुझाईदिएपछि बुझ्ने पङ्ति अघि तपाईले भन्नुभएजस्तो यो सम्पूर्ण शासकीय स्वरुपमा परिवर्तन, न्यायपालिकीय पद्धतीमा परिवर्तन, सम्पूर्ण कुरामा परिवर्तन खोजेर बुझेरै बसको छ भने अर्को एउटा सोध जो बुझाउँदै छ त्यो सोद बुझाउन थालिएको छ, र साँच्चै अन्धभक्त बनेर लाग्नेहरुको आँखा यो पङ्तिले खुल्नेछ । त्यसकारण यो व्यवस्थाको अन्त्य त कुनै पनि हालतमा जरुरी छ । यो तपाई र मैले नचाहे पनि हुँदैछ । किनकी विश्वभरीका युवाहरुको एउटै मात्र चाहना छ र त्यो लहरको रुपमा आईरहेको छ । अस्ति भर्खरै युक्रेनमा, युगोस्लाभियामा, अनि जहिले पनि ढाँटेर जनताको बहुमतको सरकार भन्दै गर्ने, आफुँ सरकारमा रहँदा गर्न नहुने काम गर्ने, सरकार छोडेर प्रतिपक्षमा आउँदा पहिला प्रतिपक्षले जे भनेर विरोध गथ्र्यो त्यो भनेर विरोध गरिरहने, प्रतिपक्ष फेरी सरकारमा जाँदा पहिला सरकारले जे गथ्र्यो त्यही गर्ने यो व्यवस्था यही हो । चुनाव जति खर्च गरेर, लगानि गरेर लड्ने र गुण्डागर्दी र आतंक मच्चाएर अनि चुनावमा भएको खर्च सांसद बनेर प्रतिसांसद ६ करोड रुपैंयाँ सांसद विकास कोर्स अन्तर्गत लिने, त्यसको ५० प्रतिशत रकम चाहिँ अर्को चुनाव लड्नका लागि रकम राख्ने पद्धतिले यो व्यवस्थालाई विकृत बनाइ दिएको छ । संविधानमै अहिले हामीले चुनावमा लडेको खर्च अर्को चुनावमा लड्नको लागि उठाउने व्यवस्था राखेका छौं । हो यो व्यवस्था चाहिँ हामीले नचाहे पनि लामो समय टिक्न सक्दैन भनेको हो ।

भनेपछि नयाँ राजनीतिक पद्धतीको प्रतिक्षामा आम जनता छन भन्ने हो ?
एकदमै । यो बरु परिवर्तनको अपेक्षा देखाइयो, तर हामीलाई प्रतिघात भयो । र आउन लागेको व्यवस्थालाई छेकेदार हाल्न लागि यिनले त्यो पूरानै व्यवस्था अहिले नयाँ नाममा फसाएर लागू गरिरहेको छ ।

जस्तै पछिल्लो पटक यो न्यायलयमा पनि अलिकति राजनीतिक हस्तक्षेप भयो भन्ने सुनिन्छ नि ?
होइन, न्यायलयमा त न्यायधीसहरु देखि–देखिकन एउटा पार्टीको सांसद भइसकेको पार्टीको कोर्रा मानिसकेको मान्छे, पार्टीृको कोर्रा खाएर जे भन्नुहुन्छ त्यही गर्छु, भन्ने पार्टीका सांसदहरु नै सर्वाेच्च अदालतको प्रधानन्यायधीसको लाइनमा रहने गरिकन नियुक्त हुने, अनि अरु अदालतहरुमा पनि न्यायधीस नियुक्त भइसकेपछि पार्टी कार्यालयमा नियुक्तिको भोलीपल्ट गएर धन्यवाद ज्ञापन गर्ने यो खालको अवस्था हुञ्जेलसम्म सोझो–सोझो पार्टीकै कार्यकर्ताहरु न्यायधीस, भागवण्डामा न्यायधीस नियुक्ति, यो भएको हुनाले यसमा त कुनै शंका नै छैन । पूर्व प्रधानन्यायधीस सुशिला कार्कीले पनि मेरो आफ्नो कुनै सूची थिएन, अरु कुनै नेताहरुको पार्टीहरुको सूचीअनुसार चाहिँ न्यायधीस नियुक्ति गरेको मेरो आफ्नै सूची थिएन भनेर उहाँले भन्नुभएको छ ।

अदालत फैसला गरिदिने र चुप लागेर बसिदिने र त्यसपछि कार्यपालिकाको सरण लिनुपर्ने अवस्था विद्यमान छ । एउटा नगरसँग त नगरप्रहरी हुन्छ, फैसला गर्ने न्यायधीसँग कार्यान्वयनका लागि आफ्नै प्रहरी हुने धेरै देशमा व्यवस्था छ । साँचो लोकतन्त्रमा के हुन्छ भने पार्टी, नेता त्यो पार्टीको नेताले गृहमन्त्रालय चलाउँछ अनि उसैले दुख दिएको मान्छे हुन्छ, न्यायपालिकाले फैसला गर्छ, कार्यान्वयन गर्न कार्य न्यायपालिकाले कार्यपालिकासँग, प्रहरीसँग पत्र लेखेर पठाउँनुपर्छ त्यो प्रहरीलाई पार्टीले र नेताले चलाउँछ । अनि त्यहाँ कसरी कार्यान्वयन हुन्छ ? त्यही भाको हुनाले साँचो लोकतन्त्रमा के हुन्छ भने साझो जुडिसियल पुलिस हुनुपर्दछ । यो तिमिले अव न्याय पाउने भयौं भनेपछि स्पटमै गएर त्यही प्रहरीले न्याय दिलाइदिन्छ । हो यो खालको न्याय लोकतान्त्रिक न्याय हो । यो यो नेपाली जनताले खोजेको छ र नेपालमा परिवर्तनको रुपमा आउनुपर्ने अर्को व्यवस्था हो ।

तपाई पत्रकार हुनुहुन्थ्यो, बीचमा अधिवक्ता बन्नुभयो, अहिलेफेरी राजनीतिमा आउन खोज्दै हुनुहुन्छ, के कारण छ ?
त्यो पत्रकारीता जुन थियो, पत्रकारीता पनि राजनीतिक रुपमा भएका विकृत पक्षहरुको सुद्धिकरणकै लागि थियो । साहित्यमा रहेर धेरै पुस्तकहरु प्रकाशन, बिसौं बर्षसम्म कलेजहरु पढाए, त्यहाभित्र पनि मैले पढाउने हरेक कोर्षमा मेरो निष्कर्ष यही नै हुन्थ्यो र परिक्षामा पनि विद्यार्थीहरु फेल भएपनि निष्कर्ष चाहिँ मेरो विचारमा आफ्नो दिएर लेख उत्तर लेख्दा चाहिँ भन्ने मेरो निष्कर्ष चाहिँ यो छ । म इन्टरनेशलन अमेरिकन युनिभर्सिटी पनि धेरै बेरसम्म पढाए, लिङ्कन इन्टरनेशनल युनिभर्सिटी अन्तर्गत पढाए, नेपालकै पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पढाए त्यहा पनि मैले यहि नै कुरा गर्दथे । अहिले पनि कानुन व्यवसायअन्तर्गत पनि राज्यले गरेका गलत निर्णयहरुका विरुद्धमा जे जति ‘राइट टु रिजेक्ट’ लगायतको गरियो । यो पनि कानुनव्यवसाय गर्दा त्यो राजनीतिक सुद्धिकरणकै लागि भइरहेको हुनाले त्यो सबै कुरा राजनीति नै थियो । पूर्ण रुपमा नै राजनीति थियो । तर के थिएन भने पत्रकार रहँदा पनि कहिल्यै पनि कुनै पनि पार्टीको भातृ संगठनको रुपमा रहेको पत्रकारहरुको संगठनको सदस्यता लिइन । तर राजनीति गर्ने सोझो विकृत राजनीति पत्रकारिता भित्र गर्ने विकृतका विरुद्ध होइन कि विकृत राजनीति पत्रकारीताभित्र गर्नेहरु जस्तो चाहिँ मैले गरिँन । वास्तवमा सहि राजनीति त त्यो थियो, जो मैले गरिरहेको थिए । अहिले कानुनव्यवसाय अन्तर्गत पनि राज्यले गरेका गलत निर्णयहरुका विरुद्ध पटक–पटक अदालत पुगिरहने कुरा सहि राजनीति नै हो नि । हामी गलत कुरालाई चाहिँ राजनीति भनिराछौं, सहि राजनीति त यो हो ।
त्यसकारण अहिले जे शासकीय स्वरुपमा परिवर्तन, न्यायपालिकाभित्रको परिवर्तनको एजेण्डा चाहिँ बोक्ने अनि मैले गरेको चाहिँ राजनीति होइन, भन्न मिल्छ र ? संगठन, पार्टी पो होइन त, तर संगठन त वकिल, खेलाडि, विद्यार्थी, वैज्ञानिकहरु, पाइलट, डाक्टरहरुको हामीले बनाइरहेकैं छौं । तर पार्टीको रुपमा कहिल्यै पनि दर्ता छैन भने त्यो नभए पनि सहि राजनीति चाहिँ यहि नै हो ।

जस्तो अव यो स्वतन्त्र राष्ट्रिय अभियान तपाई बनाउँदै हुनुहुन्छ, के छ यसको गतिविधि र कस्तो भइरहेको छ ?
स्वतन्त्र राष्ट्रिय अभियानको अघि भनेका पेशागत हिसाबले विभिन्न विभागहरु गठन भइरहेका छन् । गठित अवस्थामा छन् । बाचासाहित्यका इत्यादिको नियुत्त गरिएको छ, भने अरु चाहिँ केही संगठनहरु निर्माणको क्रममा छ । पछिल्ला गतिविधीहरुका विषयमा हामीले प्रदर्शन गर्ने इत्यादि कामहरुमा छौं र अब यसले एउटा साकार रुप पाउँछ । चाँडै नै यसको एउटा राष्ट्रिय भेला हुन्छ । त्यो राष्ट्रिय भेलाले यसको केन्द्रिय समितिको पनि घोषणा गर्छ । अहिले तदर्थ रुपमा रहेको छ । जति पेशागत रुपमा बनिरहेका संगठनहरु छन्, पेशागत संगठनहरुका मुख्य नेतृत्वहरु स्वतः केन्द्रिय समितिमा रहने गरेका छौं । जस्तो युवा, खेलाडि, कलाकार, साहित्यकारहरुको मुख्य नेतृत्व स्वतन्त राष्ट्रिय अभियान पछि केन्द्रिय समितिमा रहन्छन् । ती पेशागत संगठनहरु चाहिँ त्यही रुपमा नै रहिरहन्छन् । केन्द्रिय भेलापछि यसले प्राप्त गर्नेछन् र चाँडै सबै विषय लिएर वास्तवमा सहि लोकतन्त्र भाको छैन भनेर हामी जाँदैछौं ।

भनेपछि यो अभियान होइन कि राजनीतिक अभियान हो कि राजनीति पार्टी हो ?
होइन, यो राजनीति सुद्धिकरणका लागि पूर्णरुपिण राजनीति अभियान हो । तर कुनै पनि राजनीति दल होइन । राजनीतिसँग सम्बन्ध राख्ने भइसकेपछि यो राजनीति होइन धार्मिक हो, भन्न मिलेन । यो आर्थिक पाटोमा मात्रै र खेलको अभियान हो भन्न त मिलेन नि त । गीतसंगितको अभियान त होइन नि त । पूर्णरुपिण यसले राजनीति भनेपछि यो सबै पहल हो । आर्थिक, सामाजिक, धार्मिक, राष्ट्रियताका विषयहरु, कानुनी पाटो यो सबैलाई समेट्ने त गर्छ नै ।

अव कहिलेसम्म यो अभियान रहन्छ र अभियानपछि कसरी यसले ठोस आकार बर्णन गर्छ ?
यो चाहिँ अर्को निर्वाचन जो आउँछ नि त्यो निर्वाचनपूर्व नै हामीले एउटा सेजनशील हस्तक्षेत भूमिका निर्माण गर्नेगरिकन आउँछ यो । राजनीतिक यसको जुन संरचना हुन्छ एजेण्डा सबै राजनीतिक राख्ने संरचना सबै पेशागत संगठनहरुको समेत राजनीति राख्ने, र यो राजनीतिक होइन भन्ने हो भने यो कुरा गलत हुनेछ ।

त्यसकारण आगामी चुनावमा एउटा सशक्त पार्टीकोमार्फत् परम्परागत पार्टीहरुलाई कडा चूनौती दिने सोँच छ ?
एकमदै ! यो अनिवार्य शक्तिका रुपमा आउँछ । किनकी हामी दुईदलीय व्यवस्था हुनुपर्छ भन्ने पक्षमा छौं । ५१ प्रतिशत ल्याउने सरकार बनाउँने र उनीहरु ४९ प्रतिशत प्रतिपक्षमा रहने यो दुइटैले केही गर्दैन भने तेस्रो एकैचोटी आउने । जो अहिले विश्वको लहर हो । हो यो रुपमा चाहिँ हामी आउने खोजिराछौं भने हामीले त्यो वैकल्पिक होइन, केवल दुइवटा धारमा जानेछ । त्यो दुईवटा धारमा जाँदा अनिवार्य शक्तिका रुपमा आउछ । कमजोर नै किन नहोस् शक्ति अनिवार्य शक्ति हो ।

अन्त्यमा केही छुटेका विषय छन् ?
अन्तिममा चाहिँ हामी अहिले पनि लोकतन्त्र भनेर पूर्वप्रजातन्त्र भनेर अझै विकृत व्यवस्थाको चंगुलमा फसेका छौं । अहिले भएको विकृतिका विरुद्ध उठ्ने भनेर फेरी केही समुहहरु पूरानै निरंकुश शक्तिको पक्षमा पनि लागेको देखिएको छ । यो लोकतन्त्र होइन भनेर भन्दैगर्दाखेरि अहिलेका यी मिनि राजाहरुले चलाएका शासनहरु गलत भयो भनेर भन्दैगर्दा खेरि फेरी पूर्वराजाहरुको पक्षमा जानेर–नजानेर अझै यो भन्दा उन्नत व्यवस्था चाहिँ न यी दलहरु न यी राजा यो भन्दा अझै उन्नत लोकतन्त्र, उन्नत गणतन्त्र, प्रत्यक्ष प्रजातन्त्र, डाइरेक्ट डेमोक्रेसी पनि छ भन्ने कुरा चाहिँ बुझिदिनु हुनका लागि आग्रह गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*