एमसीसी अस्वीकार गर्ने नेकपाको घोषणा ! इण्डोप्यासिफक रणनीति भएको ठहर

समाज अनलाइन
;
१५ माघ २०७६, बुधबार २२:२६

काठमाडौं । राजधानीमा बुधबारबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको छिमेकी मुलुक चीनलाई घेराबन्दी गर्ने इण्डोप्यासिफक रणनीति भएको ठहर गर्दै घुमाउरो भाषामा संसदबाट पास नगर्ने आशय व्यक्त भएपछि पार्टीभित्र र अमेरिकी लाईनमा संशय उत्पन्न भएको छ । नेकपा केन्द्रीय समितिको बैठकमा प्रस्तुत अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा इण्डोप्यासिफिक रणनीति अन्तर्गत चीनलाई घेराउ गर्न अमेरिकाले नेपालमा एसीसी परियोजना लागू गर्न लागेको निष्कर्ष निकालिएको छ ।

नेकपाको यस्तो निष्कर्षसँगै एमसीसी संसदबाट पारित हुनेमा आशंका व्यक्त गरिएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले एमसीसीलाई पास गर्न हतार नगरौं, बहस हुन दिऊ भन्ने अभिव्यक्ति दिएको भोलिपल्ट नेकपाले एमसीसीलाई खतरनाक अमेरिकी ग्राण्ड डिजाइन भएको ठहर गरिएको प्रतिवेदन सार्वजनिक भएको हो ।

गत स्थायी कमिटीको बैठकमा भन्दा बुधबारको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेकपाले आइपीएसबारे कडा रुपमा लिँदै चीन घेर्ने रणनीति ठहर गरेपछि एमसीसी लगभग पास नहुने निश्चित भएको छ ।

नेकपाले बैठकमा वितरण गरेको राजनीतिक प्रतिवेदनमा एमसीसी हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभुत्व विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इण्डो प्यासिफिक रणनीति अगाडि बढाइरहेको उल्लेख गरेको छ ।

नेकपाको बैठकमा प्रस्तुत प्रतिवेदनमा सैन्य सहयोग देखिने कुनै पनि विदेशी सहयोग नलिने घोषणा गरिएको छ । यसबाट एमसीसीको पक्षमा नेकपाले संसदमा मतदान नगर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री केपी ओलीसहितको बैठकले अनुमोदन गरी केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा एमसीसी सैन्य सहयोगसहितको रणनीति ठहर एकातिर गरिएको छ भने अर्कोतिर नेपालले जुनसुकै प्रकारको सैन्य सहयोग सहितको रणनीतिक योजना अस्वीकार गर्ने उल्लेख गरेबाट एमसीसी पास नगर्ने लगभग निश्चित देखिएको छ ।

नेकपाको प्रतिवदेनमा चीनसँग भने नजिक हुने आशय व्यक्त गरिएको छ । प्रतिवेदनमा चीनको बीआरआई परियोजनाको बारेमा केही उल्लेख नगरी मौन समर्थन गरिएको हो ।

नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा भारतले आफ्नो नक्सामा पारेको लिम्पियाधुरा नेपालकै भएको दावी गर्दै भारतले मिचेको नेपाल भूभागको सम्बन्धमा समेत प्रवेदनमा स्पष्ट सम्बोधन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*