आईजीपी ज्ञवालीविरुद्ध ७ दिनभित्र मुद्दा दर्ता गर्न सर्वोच्च आदेश

बिप्लव कार्यकर्ता पक्राउ गरेको अभियोगमा आईजीपीसहित काठमाडौंका आधा दर्जन अधिकारीविरुद्ध नै मुद्दा
समाज अनलाइन
;
१७ फाल्गुन २०७६, शनिबार १५:५५

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका आईजीपी ठाकुर प्रसाद ज्ञवालीसहित काठमाडौंका आधा दर्जन उच्च प्रहरी अधिकारीका विरुद्धमा अवहलेना मुद्दा दर्ता गर्न आदेश दिएको छ । विप्लव नेतृत्वका विद्रोही नेकपा समर्थित भएको आशंकामा पटक पटक सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरिएको, सर्वोच्च अदालतले रिहा गर्न दिएको आदेश पालना नगरेको भन्दै सर्वोच्च अदालतले नेपाल प्रहरीका आईजीपी ज्ञवालीसहित काठमाडौं प्रहरीको सिंगो चेनअफ कमाण्डका आधा दर्जन भन्दा बढि प्रहरीविरुद्धमा सात दिन भित्र अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको आदेशसँगै पहिलो पटक नेपाल प्रहरीका आईजीपी ज्ञवाली अदालतको मानहानीको आरोपमा इजलास समक्ष उपस्थित हुनुपर्ने भएको छ ।

यही फागुन ११ गते दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले जारी गरेको आदेशमा सर्वोच्च अदालतबाट जारी भई थुनामुक्त भएका व्यक्तिहरूलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउका घटनाको सम्बन्धमा जवाफ दिन आईजीपी ज्ञवाली, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख, महानगरीय प्रहरी परिसर टेकु प्रमुख र महानगरीय प्रहरी वृत्त सिंहदरबार प्रमुखविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दाको सामना गर्नुपर्ने भएकोछ ।

अधिवक्ता भिम प्रसाद शर्माले भिम प्रसाद अधिकारी लगायतका नागरिकहरुलाई सर्वोच्चको गेटबाटै बारम्वार पक्राउ गरेको भन्दै दायर रिटमाथि शुक्रबार सर्वोच्च अदालतका न्यायाधिशहरु ईश्वर प्रसाद खतिवडा र डम्वर बहादुर शाहीको संयुक्त इजलासले सुनुवाई गर्दै यस्तो आदेश दिएको हो । सर्वोच्च अदालतको आदेश अनुसार सात दिनभित्रमा प्रहरीका आईजीपी, काठमाडौं प्रहरी प्रमुख तथा सोह्रखुट्टे प्रहरी प्रमुख तथा सिंहदरवार प्रहरी प्रमुख अदालतको आदेश पालना नगर्नुको लिखित कारण लिएर सर्वोच्च अदालतको इजलास समक्ष उपस्थित हुनुपर्नेछ ।

सर्वोच्च अदालतले पटक पटक रिहा गर्न आदेश दिए पनि प्रहरीले सर्वोच्च परिसरभित्रैबाट पक्राउ गरेको भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीको तर्फबाट भीमप्रसाद शर्माले दायर गरेको रिटमा सर्वोच्चले शुक्रबार यस्तो आदेश दिएको हो । आदेशमा सर्वोच्चका रजिष्ट्रारलाई प्रहरीका आईजीपीलगायतका उच्च अधिकारीका विरुद्धमा अवहेलना मुद्दा तयार गरी दर्ता गर्न भनिएको छ । सो आदेश अनुसार सम्भवतः आईतबार नै आईजीपीसहितका प्रहरीविरुद्धमा मुद्दा दायर हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*