१९ वटै जीवन बीमा कम्पनीको प्रतिबद्धता, ‘कोरोना पीडितलाई जीवन बीमाको दावी भुक्तानी गर्छौं’

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको १९ वटै जीवन बीमा कम्पनीहरुले विश्वभर आतंक मच्चाइरहेको कोरोना पीडितलाई दावी भुक्तानी दिने प्रतिबद्धता जनाएका छन् ।
सम्पूर्ण बीमा कम्पनीहरुको तर्फबाट जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले चीनबाट सुरु भई विश्वभर फैलिइरहेको कोरोना (कोभिड–१९) को असर नेपाली जीवन बीमा क्षेत्रमा पर्न नदिने बताएका छन् । उनले संघको सदस्य रहेका १९ वटै जीवन बीमा कम्पनीहरु आफ्ना बीमितलाई कोरोनाबाट प्रभावित भएको अवस्थामा उत्पन्न हुने दावी भुक्तानीको लागि तयार रहेको बताए ।
उनले भने, ‘सबै कम्पनीको जीवन बीमा कोषमा मात्रै साढे दुई खर्ब छ, कोरोना जस्तो महामारीले नेपाली बीमा कम्पनीलाई फरक पर्दैन ।’ १९ वटा जीवन बीमा कम्पनीको कोषमा जम्मा भएको रकम नै झण्डै तीन खर्ब पुग्न लागेकाले महामारीकै रुप लिएपनि भुक्तानी गर्ने अवस्था रहेको देखिएको छ ।
विश्वमा फैलदै गएको कोरोना नेपालमा प्रवेश गरी महामारी फैलिएको कारणबाट बीमितको मृत्यु वा स्थायी अशक्त भएमा बीमा पोलिसी अनुसारको दावी भुक्तानी गर्न बीमा कम्पनीहरुको कोष नै पर्याप्त रहेको सम्बन्धित कम्पनीहरुले जनाएका छन् ।
त्यस्तै नेपाल लाईफ, एलआईसी नेपाल तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका अधिकारीहरुले कोरोना वा इबोला जुनसुकै महामारी वा अन्यबाट मृत्यु भएमा बिना शर्त दावी भुक्तानी दिने प्रतिबद्धता जनाएका छन् ।