भारतले डब्लुएचओको प्रोटोकल पालना नगर्दा कोरोना धेरै फैलियो प्रम ओली

समाज अनलाइन
;
१२ जेष्ठ २०७७, सोमबार १९:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सीमा क्षेत्रबाट डब्लुएचओको मापदण्ड पूरा नगरी नेपाल भित्रिएका नेपाली नागरिककै कारण कोरोना भयावह अवस्थामा पुगेको दावी गरेका छन् । आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक देशबाट अर्को देशमा मानिसहरु आवत जावत गर्दा परिक्षण र क्वारेन्टाईनको शर्त पालना नहुँदा नेपालमा भयावह अवस्थाको सिर्जना भएको आरोप लगाएका छन् ।

प्रम ओलीले भनेका छन्, ‘विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो । तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ । परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।’ प्रधानमन्त्री ओलीले भारतमा रहेका नेपालीहरुलाई नेपाल फर्काउँदा डब्लुएचओ प्रोटोकलको पूरा पालना हुनु अनिवार्य रहेको भारतलाई सम्बोधनमार्फत सम्झाएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल भित्रिइसकेको सबैलाई कडा अनुशासनमा बस्न अपिल गरेका छन् । ‘स्वदेश भित्रिइसक्नु भएका दाजुभाइ दिदीबहिनीहरुले छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन र अन्य नियमहरुको पालना गर्न जरुरी छ । यस काममा उहाँहरुलाई आवश्यक सहयोग र्पुयाउने थप दायित्व स्थानीय तहको काँधमा आइपरेको छ । यस्तै अवस्थामा जनस्तरमा पारस्परिक सहयोगको आवश्यकता हुन्छ । जनता बीचको आपसी सहयोग र सजगतामा मात्रै कोरोनाजस्तो महामारीको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ’ प्रधानमन्त्री ओलीले सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*