कप्तान सागर थापासहितका ६ खेलाडीमाथि लगाइएको म्याच फिक्सिङको आरोप झुठा, सर्वोच्चले दियो सफाई

समाज अनलाइन
;
२ असार २०७७, मंगलवार २२:३२

काठमाडौं । नेपाली फुटबलका चर्चित कप्तान सागर थापासहितका छ जना खेलाडी तथा प्रशिक्षकमाथि लगाइएको म्याच फिक्सिङको आरोप झूठा ठहर भएको छ । सर्वोच्च अदालतले थापा सहितका छ जना खेलाडीलाई सफाई दिने विशेष अदालतको फैसला सदर गरेको हो ।

निकै पुरानो म्याच फिक्सिङ सम्बन्धी नेपाल प्रहरीले पक्राउ गरी मुद्दा चलाएको सो प्रकरणमा आज सर्वोच्च अदालतले फैसला गर्दै पुरानै फैसला सदर गरेको हो । यससँगै खेलाडी थापासहितका आधा दर्जन फुटबल खेलाडीहरु निर्दोष सावित भएका छन् ।
सर्वोच्च अदालतक न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले एन्फाका खेलाडी, प्रशिक्षक लगायतमाथिको आरोप पुष्टि हुन नसक्ने भन्दै निर्दोष सावित गर्दै सफाई दिएको हो । विशेष अदालतले उनीहरुमाथि राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ को दफा ३ अनुसार राष्ट्र विप्लवको कसुर गरेको नदेखिएको भन्दै सफाई दिएको थियो । सर्वोच्च अदालतले समेत सोही मुद्दालाई सदर गर्दै सफलाई दिएको हो ।

सर्वोच्चको फैसलासँगै नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु अञ्जन केसी, रितेश थापा, सागर थापा, सन्दिप राई, विकास सिंह क्षेत्री र डेजिव थापाले सफाई पाएका हुन् ।

नेपाली झण्डा फहराउँदै देश विदेशमा फुटबल खेल्ने राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्री र डेजिव थापालाई विदेशी राष्ट्रिय टिमसँग मिलेर नेपालले गोल नहानी मिलेमतो गरेको आरोपमा पक्राउ गरिएको थियो । सो सम्बन्धमा मुद्दा लगाउने कुनै ठोस कानुन नभेटेपछि राज्यविरुद्धको अपराधको आरोपमा हदैसम्म कारबाहीको माग गरी मुद्दा दायर भएको थियो । उनीहरुविरुद्ध सन् २००८ देखि खेलिएका २२ वटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेर पैसा लिएको सुराक पाएको दाबीसहित महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो । तर, विशेष अदालत र सर्वोच्च अदालतले भने म्याच फिक्सिङको आधारमा फेला नपरेको भन्दै सफाई दिएको हो ।

‘हरेक खेलमा नेपाललाई शुन्यले हराउन उनीहरु सहमत भएको देखिएको छ र तदनुसार नेपालले हारेको पनि देखिन्छ’ आरोपपत्रमा भनिएको थियो, ‘एक खेलमा हारेबापत प्रतिखेलाडी ५ हजार अमेरिकी डलरसम्म लिने गरेको बैंक स्टेटमेन्टले देखाएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*