राजा महेन्द्रको शैलीमा गीत लेख्दै प्रधानमन्त्री ओली, मोहन निरौलाको निर्देशनमा बन्यो म्यूजिक भिडियो

समाज अनलाइन
;
११ असार २०७७, बिहीबार २०:१३

काठमाडौ । पञ्चायती शासन व्यवस्थाका परिकल्पनाकार राजा महेन्द्र बेला बेलामा गीत लेख्थे । गीत संगितप्रति राजा महेन्द्रमा यति धेरै चासो थियो कि भारतबाट धेरै गीत संगितका साधकहरुलाई नेपाल ल्याएर नागरिकता नै दिएर राष्ट्रवादी गीत संगित सिर्जना गर्न लगाएका थिए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि महेन्द्रकै शैलीमा राष्ट्रवादी गीत लेख्ने गरेका छन् । यस पटक भने प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न उत्प्रेरित गर्ने गीत रचना गरेका छन् । देशको ठूलो संख्यामा युवा पुस्ता रोजगारीको लागि विदेश जाने गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले ति युवाहरुको मन छुने गीत लेखेका छन् । नेपालीहरुलाई स्वदेशमै केही गरौं भन्दै प्रधानमन्त्री ओलीले आफ्नै माटोमा पसिना बगाउन युवा पुस्तालाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले रचना गरेको गीतको एल्बम तयार पार्ने क्रममा कलाकार तथा निर्देशक मोहन निरौलाको निर्देशनमा म्यूजिक भिडियो तयार भएको छ । तेह्रथुमस्थित प्रधानमन्त्री ओलीकै गाउँमा जन्मेका निर्देशक निरौलाले प्रधानमन्त्री ओलीको गीतको भावलाई म्यूजिक भिडियोमा उतारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता रमेश पौडेलको संयोजनमा किरण क्रियशनद्वारा निर्माण गरिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ एल्वममा समावेश प्रधानमन्त्री ओलीद्वारा रचना गरिएको गीत ‘स्वदेश मै रोजगारी’ को भिडियो छायाँकन सम्पन्न भएको निर्देशक निरौलाले जानकारी दिए ।

शान्तिराम राईको संगीत तथा शान्तिराम राई र मेलिना राईको आवाज रहेको छ । गीतको म्यूजिक भिडियोमा पवित्रा आचार्यले कोरियोग्राफी गरेका छन् । प्रधुम्न मिश्रले दृश्याङ्कन गरेको गीतमा मोहन निरौला, रबिन्द्र खड्का, पवित्रा आचार्य, चेत ब.सिंह राजा, रामेश्वर बुर्लाकोटी, आशा भुसाल, प्रकृति केसी, रमेश पौडेल, उद्धव भट्टराई, गोपाल ढकाल,जीवन थापा, सुनिल कटुवाल, बाल कलाकार अनुवेशा घिमिरे र आरभी खडका लगायतको अभिनय रहेको छ । सो म्यूजिक भिडियोको सम्पादन बिनिद बमले गरेका छन् ।

 

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *