पार्टी निर्माणमा अन्तरसङ्घर्षको भूमिका

मोहन बैद्य (किरण)
२७ असार २०७७, शनिबार १३:१७

माओले पार्टीको जीवनलाई मान्छेको जीवनजस्तै– बाल, युवा, प्रौढ र बृद्धावस्था हुँदै एक दिन समाप्त हुने कुरा बताउनुभयो र पार्टीको भित्री अन्तरविरोधलाई पार्टीको जीवन ठान्नु भयो । उहाँ भन्नुहुन्छ, ‘पार्टीभित्र अन्तरविरोध रहेनन् र तिनको समाधानका लागि सैद्धान्तिक सङ्घर्ष चलाइएन भने पार्टीको जीवन खतम हुन्छ ।’

माओले पार्टीको निर्माण र विकासको सवाललाई अन्तर्विरोधको नियमको आधारमा ग्रहण गर्नुभयो र भन्नुभयो– ‘हाम्रो पार्टी पनि एकको दुईमा विभाजित बनेको छ ।’ नयाँ ढङ्गको पार्टीको निर्माण कसरी हुन्छ ? उहाँले भन्नुभयो–त्यो एकता, सङ्घर्ष र रूपान्तरणका आधारमा सम्पन्न हुन्छ । उहाँले नयाँ ढङ्गको पार्टीको निर्माणका निमित्त शुद्धीकरण आन्दोलनमा जोड दिनुभयो र त्यसको सार खिच्दै ‘एकताको भावनाबाट प्रेरित हुनु, आलोचना या सङ्घर्षको माध्यमबाट अन्तरविरोधहरूलाई हल गर्नु र नयाँ आधारमा नयाँ एकता कायम गर्नुपर्ने कुरा बताउनुभयो । उहाँले यसलाई अझै जोडदार रूपमा भन्नुभयो, ‘हामीले एकताको पुरानो आधारलाई ध्वस्त पार्नुपर्दछ । सिधै सङ्घर्षमा जानुपर्दछ र नयाँ आधारमा नयाँ एकता हासिल गर्नुपर्दछ । कुन कुरा सही हो– पानी नबग्ने पोखरी या अघि बढ्ने याङ्ग त्से नदीको अनन्त धाराप्रवाह ? पार्टी यसै दिशामा छ, जनता र वर्ग पनि यसैमा छन् ।’ यसरी माओले पार्टीलाई जमेको शान्त पोखरीको रुपमा नभई गर्जदै अघि बढ्ने याङ्ग त्से नदीका अनन्त धाराप्रवाहको रूपमा लिनुभयो । माओको पार्टी एकता, नयाँ ढङ्गको पार्टी वा पार्टीको विकाससँग सम्बन्धित कुराको व्याख्याविपरीतहरूको एकताको नियममा आधारित छ । तद्नुसार प्रथम अवस्थामा विपरीतहरू परस्पर सङ्घर्ष गर्दै एकजुट हुन्छन् र दोस्रो अवस्थामा ती एक अर्कामा बदलिन्छन् । यसरी एकता, सङ्घर्ष र रूपान्तरणका रूपमा हुने परिवर्तनलाई माओले गुणात्मक परिवर्तनका रूपमा लिनुभएको छ र त्यसैलाई ‘नयाँ आधारमा नयाँ एकता’ बताउन पुग्नुभएको छ । उहाँले पार्टीको यस प्रकारको विकासलार्ई घट्नु र बढ्नुका रूपमा हुने क्रमिक विकास वा मात्रात्मक विकासका अर्थमा नभै ‘एकताको पुरानो आधारलाई ध्वस्त’ पारेर गरिने विकासका अर्थमा अर्थात् छलाङ्गका अर्थमा ग्रहण गर्नुभएको छ र पार्टी जीवनको यो क्रम लगातार उच्चस्तरमा विकसित हुँदै जाने कुरा बताउनुभएको छ ।

अन्तरसङ्घर्ष वा दुईलाइन सङ्घर्षको सञ्चालनका क्रममा माओले विपरीत तत्वहरूको एकता अर्थात् एकको दुईमा विभाजनको प्रश्नलाई निकै गम्भीरतापूर्वक लिनुभयो । गल्ती गर्ने साथीहरूप्रति कस्तो रुख हुने ? उहाँले भन्नुभयो, ‘पहिलो सङ्घर्ष गर्ने र दोस्रो उसलाई सघाउने ।’ पार्टीभित्र रहेका गलत विचारहरूलई परास्त गर्ने र साथीहरूलई सच्चाउनका लागि माओले पार्टीमा बारम्बार शुद्धीकरण आन्दोलन चलाउनुभयो । विचारधारात्मक सङ्घर्षलाई निकै प्रश्रय दिनुभयो । उहाँले एकता, सङ्घर्ष वा रूपान्तरणको पद्धतिको राम्रो प्रयोग गर्नुभयो । उहाँले ‘भविष्यमा गल्तीबाट बच्नका निम्ति अतीतका गल्तीबाट सिक्ने र ‘रोगीलाई बचाउनका निम्ति रोगको उपचार गर्ने’ सिद्धान्तमा जोड दिनुभयो । साथै, उहाँले कुन कुरामाथि पनि जोड दिनुभयो भने ट्राटस्की, छन् त्यु श्यू, च्याङ क्वो थाओ, ल्यू शाओ ची, खुश्चोभजस्तासँग यो तरिका सम्भव छैन ।

माओले फुटका विरुद्ध एकतामा जोड दिनुभयो । परन्तु, उहाँ सङ्घर्ष विनाको एकताको– एकमना एकता ९ःयलयष्तिजष्अ ग्लष्तथ० को कडा विरोधी हुनुहुन्थ्यो उहाँले भन्नुहुन्थ्यो– ‘एकमना एकताबारे कुरा गरिरहने तर सङ्घर्षबारे कुरा नगर्ने माक्र्सवादी–लेनिनवादी होइन ।’ उहाँ पार्टीभित्र कुनै सन्त वा शतप्रतिशत माक्र्सवादी हुन नसक्ने र एउटा व्यक्ति पनि विश्लेषणको पात्र हुने अर्थात् त्यो पनि सही र गलतमा विभाजित हुने कुरा बताउनुहुन्थ्यो ।

दुई लाइनसङ्घर्षको द्वन्द्ववादमा माओ निकै कुशल हुनुहुन्थ्यो । उहाँ एकातिर ‘हरेक कार्यनीतिक चरणमा सङ्घर्ष चलाउनुका साथै सम्झौता गर्नु पनि आवश्यक रूपमा सही हुन्छ’ भन्न पुग्नु हुन्थ्यो र कैयौं कमरेडहरूको विरोध हुँदा हुँदै पनि सातौं महाधिवेशनको केसमा वाङ मिङलाई राख्न तयार हुनुहुन्थ्यो भने अर्कोतिर गलत तत्वहरूलाई छुट दिन हुन्न भन्दै ल्यू, पेङ्ग ते हुईजस्तालाई कठोर दण्ड दिन पनि पछि पर्नु हुन्नथ्यो । जब स्थिति जटिल हुँदै जान्छ, जस्तो कि पछिल्लो लुसान कन्फ्रेन्समा लिन पिआओपन्थीहरू एकदमै लुकेर अचानक हमला ९क्गचउचष्कभ ब्ततबअप० गर्न आएका थिए, त्यो बेला उहाँ भन्नुहुन्थ्यो– ‘लुसान सम्मेलनपछि मैले तीन तरिकाको प्रयोग गरे पहिलो– ढुङ्गा हान्नु थियो, दोस्रो– माटोमा बालुवा मिसाउनु थियो, तेस्रो– पर्खालहरूमा सुरुङ बिच्छ्याउनु थियो ।’ यसरी दुईलाइन सङ्घर्षमा द्वन्द्ववादको प्रयोग गर्दा उहाँ कहिले निकै कडा, कहिले निकै नरम, कहिले बाङ्गोटिङ्गो मोडको रफ्तारसँगै निकै बक्र र घुमाउरो पनि बन्ने गर्नुहुन्थ्यो । परन्तु, सिद्धान्त र कार्यदिशाको प्रश्नमा उहाँ दृढ हुनुहुन्थ्यो । उहाँले भन्नुभयो– ‘कार्यदिशा र सिद्धान्तका प्रमुख प्रश्नमा मैले कुनै छुट दिइनँ ।

पार्टीभित्र उहाँ उग्रवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध विशेषतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण तरिकाले जुझ्नुभयो । उहाँले जनता र आन्दोलनको बीचमा देखापर्ने प्रवृत्तिहरूलाई उग्र, दक्षिण र मध्यका रूपमा विश्लेषण गर्नुभयो । यस सन्दर्भमा उहाँले सन् १९६२ यता पार्टीमा ‘रूपमा वाम र सारमा दक्षिण’ का रूपमा प्रकट अवसरवादको पनि उल्लेख गर्नुभयो र ती सबैका विरुद्ध सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिनुभयो । विभिन्न प्रवृत्तिसँगको, अन्तरसङ्घर्ष वा दुईलाइन सङ्घर्षमा कस्तो रुख अपनाउने, त्यसबार उहाँले भन्नुभयो– बीचका मानिसहरूलाई आप्mनो पक्षमा ल्याउनुपर्दछ र दक्षिणपन्थीहरूलाई एकएक गरेर प्रहार गर्दै जानुपर्दछ । उहाँले संशोधनवादलाई पुँजीवादी विचारधारकै एउटा रूप बताउनुभयो र त्यसको साम्राज्यवादसँग अटुट सम्बन्ध रहेको कुरामाथि प्रकाश पार्नुभयो ।

माओले पार्टीभित्रको दुईलाइन सङ्घर्षले शत्रुतापूर्ण रूप लिनसक्ने, असल पक्षमाथि खराब पक्षको विजय हुन सक्ने र एउटा क्रान्तिकारी पार्टी संशोधनवादी पुँजीवादी पार्टीका रूपमा बदलिन सक्ने कुरामाथि राम्रो प्रकाश पार्नुभयो । उहाँले सन् १९६२ मा भन्नुभएको थियो– ‘माक्र्सवाद–लेनिनवाद र संशोधनवादका बीचको सङ्घर्षमा कसको जित र कसको हार हुने भन्ने कुरा अझै अनिश्चित छ । यहाँनेर कुन कुराको प्रवल सम्भावना छ भने संशोधनवाद विजयी बन्नेछ, हामीले हार्नेछौं ।’ यसको अर्थ के हो भने पार्टीभित्रको एकता, सङ्घर्ष र रूपान्तरणका क्रममा गलत पक्षले सही पक्षलाई हराउन सक्छ र त्यो परिवर्तन गुणात्मक ढङ्गले उल्टो दिशामा पनि हुन सक्छ । माओको के जोड रह्यो भने यद्यपि, यो अस्थायी चिज हो । परन्तु, त्यसप्रकारको खतराप्रति जनता र कार्यकर्ताहरूलाई पूरै सतर्क पार्नु आवश्यक छ । चीनमा जब दुईलाइन सङ्घर्ष चर्कंदै गयो र त्यसै पटकपटक शत्रुताको रूप लिन थाल्यो, त्यो परिस्थितिमा माओले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको थालनी गर्नुभयो, जसको उद्देश्य विश्व दृष्टिकोणको समस्या समाधान गर्नु थियो, संशोधनवादको मुलोच्छेदन गर्नु थियो ।

यस सन्दर्भमा उहाँले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एकतासम्बन्धी प्रश्नमा अत्यन्तै ध्यान दिनुभयो । खुश्चोभको आधुनिक संशोधनवादमा पतन भएपछि उहाँको निर्देशनमा रुसी पार्टीलाई जुन पत्र पठाइयो, त्यसमा फुट र फुटवाद र एकताको प्रश्नमा राम्रो प्रकाश पारिएको छ । फुटवादी कुन हो ? त्यसमा सिद्धान्तसित, माक्र्सवाद–लेनिनवादसित, क्रान्तिकारी सर्वहारावादी पार्टीसित फुट्ने र संशोधनवाद, संशोधनवादी कार्यदिशा, सुधारवादी बुर्जुवा पार्टीमा गिर्नेलाई फुटवादी बताइएको छ । र, सच्चा कम्युनिस्टहरू कहिल्यै पनि फुटवादी हुँदैनन् भन्ने कुरामा जोड दिइएको छ । सो पत्रमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासका एकता र फुटका अनुभवहरूलाई संश्लेषण गर्दै भनिएको छ– ‘एकता, सङ्घर्ष या फुटसम्म पनि र नयाँ आधारमा नयाँ एकता, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकासको द्वन्द्ववाद यस्तै छ । ‘एकता, सङ्घर्ष या फुटसम्म पनि र नयाँ आधारमा नयाँ एकता’ यो नयाँ ढङ्गको पार्टी निर्माण तथा विकाससम्बन्धी माओवादी मान्यताको एक मूल विशेषता हो । यसले पार्टीको विकास प्रक्रियालाई एकता र सङ्घर्षसम्म मात्र सीमित राख्दैन । अपितु, रूपान्तरण, छलाङ्ग र नयाँ आधारमा नयाँ एकता कायम गर्दै निरन्तर विकसित हुँदै जाने अर्थमा ग्रहण गर्दछ । यसरी माओ क्रान्तिकारी सिद्धान्त र कार्यदिशाको निम्ति, कम्युनिज्म र क्रान्तिको उज्ज्वल भविष्यका निम्ति भीषण वर्गयुद्ध र दुईलाइन सङ्घर्षहरूमा भिड्नुभयो । नयाँ ढङ्गको पार्टी निर्माणसम्बन्धी माओवादी मान्यताको विकास पनि ठीक यसै भिडन्तको क्रममा भयो । यी भिडन्तहरूमा उहाँ डग्नु भएन र यसै भिडन्तमा जानुलाई अर्थात् ज्वारभाटाको विरुद्ध जानुलाई उहाँले माक्र्सवाद–लेनिनवाद बताउनुभयो । –प्रतिस्पर्धा साप्ताहिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*