राष्ट्र बैंकमा चार घण्टा बयान दिएर फर्किए सनराईज बैंकका ७ जना सञ्चालक

समाज अनलाइन
;
१२ श्रावण २०७७, सोमबार ०७:२३

काठमाडौं । बैंकभित्र राजनीति गर्दै सर्वसाधारणको निक्षेप दुरुपयोगको आशंकामा नेपाल राष्ट्र बैंकले सनराईज बैंकका ७ जना सञ्चालकलाई बोलाएर बयान लिएको छ । सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगडसहित ७ जना सञ्चालकले हिजो नेपााल राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर चार घण्टा बयान दिएका हुन् । उनीहरुले दिएको बयानको विषय अहिले बताउन नमिल्ने बैंक तथा वित्तीय क्षेत्र नियमन विभागका प्रमुख कार्यकारी निर्देशक देव कुमार ढकालले बताए । साथै उनले अनुसन्धान जारी रहेकोले थप बयान लिन सकिने समेत जनाएका छन् ।

बैंकको सञ्चालक समितिमा दुई वटा गुट विकास भई सिईओलाई हटाउने र नहटाउने भन्ने सम्बन्धमा विवाद भएको कुरा बाहिर आएपछि राष्ट्र बैंकले एक्सन लिन लागेको हो । अध्यक्ष मोतिलाल दुगड तथा सञ्चालक मालचन्द दुगडको घरायसी झगडा बैंकभित्र देखिएपछि सो विवाद राष्ट्र बैंक पुगेको हो ।

सञ्चालकहरुसँग मौखिक रुपमा बयान लिएको हो । मौखिक बयान समेत टिपोट बनाइएको छ । कार्यकारी निर्देशक ढकालले भने, ‘हामीले सनराईज बैंकका सञ्चालकहरुलाई बोलाएर उहाँहरुको कुरा सुन्यौं, आवश्यकता अनुसार बोलाएर जानकारी लिइन्छ ।’ बैंकले सिईओ जनक शर्मा पौडेलसँग कहिले बयान लिने वा लिने नलिने बारे निर्णय भइनसकेको समेत उनले बताए ।
सञ्चालकहरुलाई बयान लिईसकेपछि केन्द्रीय बैंकले बैंक सञ्चालकहरुको परिधि, सीमा, अधिकार र कर्तव्यको ध्यानाकर्षण गराउँदै बैंकभित्र राजनीति भएमा गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए ।

सनराईज बैंकभित्र उत्पन्न समस्याको तत्काल हल गर्न गभर्नर महाप्रसाद अधिकारी मातहतका विभागलाई निर्देशन दिइएका छन् । नियमन विभागले आगामी दिनमा सहज रुपमा अगाडि बढ्न सक्ने देखिएमा मिलाएर अघि बढाउने र सञ्चालकहरुको झगडा बाँकी रहेमा टेक ओभर गरेर अघि बढ्ने देखिएको छ । सनराईज बैंकमा देखिएको नेतृत्वको झगडालाई अन्य बैंकमा सर्न नदिन राष्ट्र सचेत रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*