भोलिदेखि सबै सार्वजनिक यातायात खुल्ला गर्ने सरकारको निर्णय, आन्तरिक हवाई जहाज समेत उड्ने

समाज अनलाइन
;
३१ भाद्र २०७७, बुधबार ०९:०७

काठमाडौं । नेपाल सरकारले भोलिदेखि नै सबै प्रकारका सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेको छ । नेपाल सरकारका प्रबक्ता प्रदिप ज्ञवालीले गत मंगलबार बसेको मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै यही असोज १ गतेदेखि सबै प्रकारका सार्वजनिक यातायात लामो दुरीका समेत खुल्ला गर्ने निर्णय गरेको हो ।

यसअघि असोज ५ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको कुरा बाहिर आएको थियो । तर, हिजो मन्त्रिपरिषदको निर्णय सार्वजनिक हुँदा यही असोज १ गतेदेखि नै लामो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको जानकारी सरकारका प्रबक्ताले दिएका छन् ।

साथै आन्तरिक हवाई उडान समेत भोलिबाट खुल्ला हुनेछ । आन्तरिक हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात समेत सुचारु भएपछि गत चैत्र ११ गतेदेखि घोषणा गरिएको कोरोना विरुद्धको लकडाउन औपचारिक रुपमा अन्त्य भएको छ ।

यसैबीच, सरकारले लामो दुरीका सवारी साधनको भाडा ५० प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । थोरै यात्रु राख्नुपर्ने, सुरक्षामापदण्ड पूरा गर्नुपर्ने हुँदा लागत बढ्न जाने भएकोले भाडा बृद्धि गरेको नेपाल सरकारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*