निःशुल्क मुटु शिवरमा ७० जनाको मुटु परिक्षण

काठमाडौं । मुटु दिवसको अवसर पारेर नेपाल कार्डियो डाइबेटिज एण्ड थाईराईड सेन्टर, गोल्फुटार, बुढानिलकण्ठमा हिजो एक दिने निःशुल्क मुटु शिवर सम्पन्न भएको छ । सेभ द हर्ट र हर्ट नेट नेपालको आयोजना सञ्चालन भएको निःशुल्क मुटु शिवरमा ७० जनाको निशुल्क मुटु परिक्षण गरिएको डा. अनिल भट्टराईले जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो भास्कुल ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटु सर्जन डा. अनिल भट्टराईसहितको टोलीले अपरान्हदेखि साँझसम्म मुटु परिक्षण गरेका हुन् । विश्व मुटु दिवस तथा सामाजिक सेवा दिवसको अवसर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिवरमा महाराजगन्ज, बुढानिलकण्ठ आसपास तथा राजधानीका विभिन्न ठाउँबाट मानिसहरु काठमाडौंको हात्तिगौडा, स्पेशल चोकमा रहेको सो क्लीनिकमा पुगेर सेवा लिएका थिए ।
निःशुल्क परिक्षण शिविरमा डाक्टर फि ५०० रुपैयाँ, इसिजी ३५० रुपैयाँ र इको कार्डियोको दुई हजार ५०० रुपैयाँ पुरै छुट दिइएको क्लीनिकका सञ्चालक शेर बहादुर रानाले बताए । काठमाडौंको लाजिम्पाटमा रहेको नेपाल कार्डियो डायबिटिज एण्ड थाईराईड सेन्टर केही समय पहिले बुढानिलकण्ठ नगरपालिकाको गल्फुटारस्थित स्पेशल चोकमा सरेर सेवा प्रवाह गरिरहेको छ ।
आज सेप्टेम्वर २९ गते विश्वभर मुटु दिवसको रुपम विविध कार्यक्रम गरी मनाइदैछ । कोरोना महामारीका बीचमा सामाजिक दुरी कायम गर्दै निःशुल्क शिविर सञ्चालन गरिएको हो ।