दोलखाका युवाले काठमाडौंको न्यूरोडमा खोले नयाँ सहकारी

समाज अनलाइन
;
१६ आश्विन २०७७, शुक्रबार २२:३१

काठमाडौं । राजधानी काठमाडौंको न्यूरोडमा आजदेखि सम्बर्द्धन सहकारी सञ्चालनमा आएको छ । दोलखाबाट काठमाडौं आई विभिन्न व्यवसायमा आबद्ध भएका युवा उद्यमीहरुले आजदेखि न्यूरोड, महाबौद्ध तथा सिंगो राजधानीलाई केन्द्रबिन्दु बनाएर सहकारी सञ्चालन गरेका हुन् ।

२०६५ सालमा दर्ता भएको सम्बर्द्धन सहकारीमा नयाँ व्यवस्थापनसहित आजबाट औपचारिक सुरुवात गरिएको अध्यक्ष चण्डिका खड्काले जानकारी दिईन् । सहकारीको उद्घाटन केन्द्रीय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरेका छन् । विशेष अतिथिको रुपमा सहकारी अभियान्ता टेक प्रसाद चौलागाई र काठमाडौं निम्न व्यापारी संघका अध्यक्ष लक्ष्मी प्रसाद ओलीको उपस्थितिमा सहकारीको औपचारिक उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा सहभागी हुँदै अध्यक्ष उप्रेतीले मुलुकको अर्थतन्त्र नै तीन खम्बे नीति अनुरुप सहकारीको समग्र विकासबाट देशको अर्थतन्त्र बलियो हुने धारणा व्यक्त गरे । दोलखा जिल्ला तथा विशेषतः मैलुङ गाउँपालिकाबाट काठमाडौं आई विभिन्न पेशा व्यवसायमा आबद्ध भएका युवाहरुले सुरु गरेको सहकारीलाई अध्यक्ष उप्रेतीले शुभकामना व्यक्त गर्दै सहकारीको सिद्धान्तबाट विचलित नभई अघि बढ्न सुझाव दिएका छन् ।

सहकारीको बालाजुस्थित सदस्य सेवा केन्द्रको पनि आजै उद्घाटन गरिएको छ । कामनपा १६ बालाजुमा सहकारीको सदस्यता सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । हाल ७ जना कार्य समितिका सदस्यबाट सुरुवात गरिएको सहकारीले छिट्टै काठमाडौंको पेप्सीकोलामा पनि सदस्य सेवा केन्द्र सञ्चालन गर्ने सहकारी संस्थाले जनाएको छ ।

‘प्रत्येक व्यक्ति सबैका लागि सबै व्यक्ति प्रत्येकका लागि’ भन्ने नारा सहित पुनः सुरु गरिएको सहकारीको अधिकृत पुँजि पाँच करोड रुपैयाँ रहेकोछ । महिला अध्यक्ष भएको सो सहकारी संस्थामा नारी सम्बद्र्धन बचत योजना सहित जेष्ठ नागरिक बचत योजना, अवधी क्रमिक बचत योजना, बाल भविष्य बचत योजना, शेयर बचत योजना, सम्बद्र्धन व्यवसायिक उन्नती बचत, ३६५ दिने बचत जस्ता बचत योजना रहेका छन् । त्यस्तै सहकारीमा सामूहिक जमानी कर्जा, व्यवसायिक कर्जा, महिला उद्यमी कर्जा, हायर पर्चेज कर्जा, शैक्षिक कर्जा, आवधिक बचत धितो कर्जा, सम्बद्र्धन छिटो कर्जा सुविधा पाइनेछ ।

महिला तथा युवाहरुद्वारा सञ्चालित सहकारी संस्थाले युवा तथा महिलाहरुलाई उद्यममा प्रेरित गर्ने उद्देश्यले पेशा व्यवसायको अतिरिक्त सहकारीको माध्यमबाट देशको सेवा गर्ने उद्देश्यले पुँजि जुटाएर नयाँ सहकारी संस्थाको सुरुवात गरिएको अध्यक्ष खड्काले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*