जल शक्तिको उपयोगमा नेपाल–बंगलादेश–भारत त्रिदेशीय साझेदारी गर्नुपर्छ

———— सूर्यनाथ बास्तोला, जलस्रोत बिज्ञ तथा योजनाविद्
समाज अनलाइन
;
१७ आश्विन २०७७, शनिबार १०:३२

नेपालको जलविद्युत क्षेत्रमा लामो योगदान पुर्याई सफल योजनाकारको रुपमा परिचय बनाउन सफल सूर्यनाथ बास्तोला जीवनको उत्तराद्र्धमा पनि जलशक्तिको उपयोग र योजना निर्माणमै व्यस्त छन् । पूर्वी नेपालको इलामको तल्केनी भन्ने स्थानमा १९९० साल बैशाख ८ गते जन्मेका र हाल ८७ पुगिसकेका बास्तोलाले आजभन्दा ६३ वर्ष पहिले इन्जिनियरिङ चार वर्षे डिग्री उत्तीर्ण गरी ३० वर्ष नेपालको सरकारी सेवामा बिताएका एक अनुभव जलस्रोत विज्ञ तथा योजनाविद समेत हुन् ।
नेपालका पुराना र सफल जल सम्पदा निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका बास्तोला जलआयोजनाका डिजाइनर हुन् । पछिल्लो समय विश्वका कैयौं विश्व विद्यालयमा गेष्ट लेक्चररको रुपमा अध्यापन गराउँदै आएका छन् । हाल कोरोना लकडाउनमा घरैमा बसेर जल सम्पदाको उपयोगबारे रणनीति बनाउँदै गरेका बास्तोला नेपाल–बंगलादेश–भारतीय त्रिदेशीय साझेदारीमा यस क्षेत्रको जल सम्पदाको अधिकतम् उपयोग हुने ठोस योजना बनाउनुपर्ने अभियानमा छन् । नेपालमा पानी जहाज चलाउनुपर्दछ र यो सम्भव छ भनेर सो सम्बन्धी विचार प्रस्तुत गर्ने बाँस्तोला अझै पनि नेपाल–भारत र बंगलादेशबीच त्रिदेशीय साझेदारीको आधारमा बंगालको खाडी हुँदै ठूला पानी जहाज नेपाल भित्राउन सम्भव रहेको र नेपालका जल सम्पदामा भारत–बंगलादेशलाई सहभागी गराएर लगानी र बजारिकरण गर्नुपर्नेमा जोड दिन्छन् । हालसम्म दर्जन जति कृति, आर्थिक विकास र जलस्रोत सम्बन्धमा पुस्तकहरु लेखेको बाँस्तोला आर्थिक समृद्धिका लागि वर्तमान सरकारले धेरै काम गर्न सक्ने बताउँछन् । प्रस्तुत छ, प्रतिस्पर्धा साप्ताहिकले उनै बाँस्तोलासँग लिएको अन्तर्वार्ताको सार संक्षेप ।

कोरोना महामारीपछि विश्वकै अर्थतन्त्र संकटमा छ, नेपालमा पनि अप्ठेरो पर्नसक्ने त्रास छ कसरी विश्लेषण गर्नुभा छ ?

कोरोना महामारीले विश्वलाई अक्रान्त पारेको छ । यो एउटा प्राकृतिक नियमित घट्ना हो । यसले अर्थमन्त्रमा योजना बनाउँदा कुनै एउटा विशेष क्षेत्रलाई मात्रैमा ध्यान दिनु हुदैन बरु विविधिकरणतर्फ सोच्नुपर्दछ भनेर सिकाएको छ । नेपालको जल सम्पदाको उपयोग र कृषिको उपयोग साथै पर्यटनलाई जोडेर तीन वटा क्षेत्रलाई अन्तरसम्बन्धित बनाउन सकेमा भविष्यमा ठूलो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।

कोरोना महामारीले पर्यटन क्षेत्र ध्वस्त हुँदै गएको छ, अब कसरी अघि बढ्ने ?

पर्यटन नेपालको मात्रै होइन, विश्वकै ध्वस्त भएको छ । अहिले नेपालको पर्यटन क्षेत्रलाई धेरै नै कठिन भइरहेकोछ । तर, आत्तिने होइन, धैर्य गरेर अघि बढ्नु पर्दछ । कोरोना महामारीको खोप वा कुनै विधिद्वारा अन्त्य हुने वित्तिकै पर्यटकहरु तान्न विश्वका विकसित देशहरुका बीचमा नैठूलो होडबाजी चल्नेछ । त्यसको लागि हामीले देखि नै तयारी गर्नुपर्छ । अहिले पूर्वाधारहरु विकास गरेर ठीक्क पार्ने, खुल्ने वित्तिकै विशेष प्याकेजहरु ल्याएर पर्यटक भित्राउन सकिन्छ । आजकलको जनामा डिजिटलमा गइसकेको छ । प्रचार प्रसारको तयारी गर्ने, आतिथ्यको तयारी गर्ने हो । पर्यटन मात्रै भनेर पनि भएन । अब विस्तारै पर्यटनसँगै कृषि जोड्ने, कृषिसँग जलस्रोतका अन्य विधा जोडेर लैजानुपर्छ । कृषि पर्यटन, कृषिका पकेट क्षेत्रहरु बनाएपछि पर्यटकहरु आएर कृषिको पकेट क्षेत्रको पनि भ्रमण गराउन सकियो भने कृषि उत्पादन बिक्री गर्न पनि सकियो अनि देखाएर पर्यटकलाई मनोरञ्जन दिन पनि सकियो । यस्तो खालको बहुआयामिक सोच्नुपर्दछ ।

कृषि र पर्यटन अनि जलस्रोतलाई जोड्ने भन्नु भाको चाही कसरी हो ?
अबको समयमा पर्यटनलाई केही कठिन छ । त्यसो भन्दैमा पर्यटनलाई बन्दै गर्ने भनेको होइन, त्यसलाई पनि जोगाउने साथै थप कृषिलाई पनि प्रोत्साहन गर्ने भनेको हो । यसको एउटा एकिकृत प्याकेज बनाउनु पर्छ । कृषि पर्यटनमा केन्द्रीत हुने भनेको हो । फेरि पुरै कृषि पर्यटन भनियो भने अर्को अर्थ लाग्छ, अहिलेसम्म हिम श्रृंखलामा मात्रै देखायौं, हिमाल खोलानाला पनि देखाउनु पर्छ । अब ति खोलाहरुमा स्थानीय जनतालाई आवश्यक बिजुली त्यही उत्पादन गरेर पनि देखाउनु पर्छ । अनि त्यो हिमालको फेदीमा कृषि पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्छ । यसो गर्दा हिमाल हेर्छन, हिमालको फेदीमा फलेको खान्छन्, यसले थप आम्दानी र थप समृद्धि हुन्छ । कृषि, पर्यटन र जल सम्पदाको एकीकृत विकासको योजना अघि सार्नुपछ भन्ने मेरो भनाई हो । कृषि उत्पादनलाई नेपाली हावापानी सुहाउँदो मौलिक प्रविधिको विकास, नवितम प्रविधि र मलबीऊको प्रयोगमा जोड दिएर सफल पार्नुपर्दछ । कृषिमा लगानी बृद्धि गर्ने नीति हुनु जरुरी छ । अब पूर्वाधार र सडक विकासमा भन्दा कृषि उत्पादन बृद्धि गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्दछ । त्यस्तै हिमाल क्षेत्रमा साना साना जल सम्पदा उपयोगका योजनाहरु ल्याउनु पर्दछ । अर्को कुरा हाईड्रोपावरको मेगा प्रोजेक्ट बनाउनु पर्छ । त्यो मेगा प्रोजेक्ट बहुउपयोगी बनाउनु पर्दछ । जलविद्युत आयोजना र त्यही आयोजनाबाट निस्केको पानीले ठूलो मात्रामा जमिनमा सिंचाई पु¥याउन सक्ने योजना बनाउनुपर्दछ । सिंगो नदिमा ४०÷५० मेगावाटको हाईड्रोपावर बनायो सकियो भन्ने अहिलेको विकासे संस्कृतिलाई बदल्नुपर्छ र अब हाईड्रोपावर र सिंचाईलाई परिपूरक बनाउनुपर्दछ । हाईड्रो पावरको नाममा यताको नदि उता लैजाँदा तल्लो तटिय क्षेत्रका जनताले पानी नपाएको अवस्था समेत छ । अब विकासको परिभाषा बदल्नु पर्दछ र जलद्यिुत र सिंचाईलाई परिपूरक बनाएर अघि बढाउनु पर्छ । अनि त्यसमा पर्यटन जोड्नुपर्छ भनेको हो ।

———————0-0-0——————————

त्यसैले नेपाल–भारत–बंगलादेश त्रिदेशीय साझेदारीमार्फत यो काम सम्पन्न गर्न सकिन्छ । सम्वभ छ । यसको लागि नेपालले नेतृत्व लिनुपर्दछ । नेपालको जल सम्पदा र जलविद्युत भारत र बंगलादेश दुवैलाई चाहिएको छ, नेपालमा उत्पादन भएको जल विद्युत भारत र बंगलादेशलाई दिने र उनीहरुले नेपालमा आउने पानी जहाजलाई रुट दिने कुरा जम्मा यति त हो ।

———————0-0-0——————————

कोशी नदिमा पानी जहाज ल्याउने कुरा उठाउँदै आउनु भएको छ, त्यसबारे के भन्नुहुन्छ ?
मैले नै सुरुदेखि उठाउँदै आएको छु । नाकाबन्दी भन्दा पहिलेदेखि नै मैले विभिन्न अन्तर्वार्ताहरुमार्फत भन्दै आएको छ । यो योजना दक्षिण एसियाकै मेगा प्लान हुन्छ । नेपालको आर्थिक समृद्धि पनि यसले ल्याउँछ । यो नेपालको मात्रै चासो र मेहनतले सम्भव हुने कुरा होइन । तर, नेपालको नेतृत्वमा सम्भव हुने कुरा हो । नेपालको कोशी नदिमा पानी जहाज ल्याउन दिन भारत तयार हुनुपर्दछ । बंगलादेश तयार हुनुपर्दछ । त्यसैले नेपाल–भारत–बंगलादेश त्रिदेशीय साझेदारीमार्फत यो काम सम्पन्न गर्न सकिन्छ । सम्वभ छ । यसको लागि नेपालले नेतृत्व लिनुपर्दछ । नेपालको जल सम्पदा र जलविद्युत भारत र बंगलादेश दुवैलाई चाहिएको छ, नेपालमा उत्पादन भएको जल विद्युत भारत र बंगलादेशलाई दिने र उनीहरुले नेपालमा आउने पानी जहाजलाई रुट दिने कुरा जम्मा यति त हो । नेपालको जल विद्युतलाई लगानी र बजार दुवै चाहिएको छ, लगानी उनीहरुलाई नै हाल्न लगाउने । बजारिकरणको लागि भारत र बंगलादेश छदैछ । यही साझा हितमा समझदारी बन्न सक्छ । विद्युत पानी बाँडफाँड र नियन्त्रणमा नेपालको हित हुने गरी प्रस्तुत हुन सक्नुपर्दछ । यो योजना नेपालले अघि बढाउनुपर्दछ । तर आफ्नो स्वार्थलाई रक्षा गर्न सक्ने गरी गहिरो अध्ययन गरेर प्रस्ताव अघि बढाउनु पर्दछ । नेपालले आफ्नो जलस्रोत अध्ययन र विकास गर्न छुट्टै जलशक्ति रिसर्च सेन्टर स्थापना गर्नुपर्दछ । सरकारले वाटर पावर कमिशन गठन गरेर सोही कमिशनमार्फत यस विषयमा भारत र बंगलादेशसँग मिलेर अनुसन्धान गर्न सकिन्छ । पहिला नेपाल अघि बढ्नुपर्दछ ।

अहिलेको विद्युत प्राधिकरण भन्दा माथि अर्को निकाय चाहिन्छ भन्न खोज्नु भाको ?
प्राधिकरण भनेको कम्पनी जस्तै काम गर्दै आएको छ । अब अथोरिटी समेत छैन । यो मोडलबाट माथि उठ्नु पर्छ । अन्तर्राष्ट्रिय अथोरिटीसँग डिल गर्न सक्ने शक्ति सम्पन्न वाटर पावर कमिशन बनाउनु पर्दछ । यसले योजना र नीतिहरु तर्जुमा गर्छ । नेपालको जलस्रोतको उपयोगलाई अझै प्रभावकारी, जनताले लाभ पाउने गरी अघि बढाउनु पर्दछ । त्यसको लागि लगानी बोर्ड वा त्यस्तै एउटा निकायमार्फत जलस्रोतको पहिचान तथा अध्ययन हुनुपर्दछ । देशमा के कति आयोजना बनेका छन् ? के कति पाईपालाईनमा छन् ? सो कुराको एउटा डाटाबेस तयार गरेर बाँकी रहेको जलशक्तिको नयाँ सम्भाव्यता अध्ययन गरेर छुट्टै प्लान बनाउनुपर्दछ । हाईड्रोपावरमा धेरै गफ मात्रै भयो । हचुवाको भरमा आयोजनाहरु बने, लगानीकर्ताहरु अन्योलमा छन् । विद्युत आयोजना तयार भयो, उत्पादन सुरु भइसक्यो, प्रशारण लाइन छैन । यस्तो समस्या आउनु हुँदैन । विगतमा लोडसेडिङको समयमा जथाभावी जलविद्युत कम्पनी निर्माण गर्न अनुमति दियौं, त्यसले कतै भद्रगोल त भएको छैन ? अध्ययन गर्न जरुरी छ । हालको प्रगति त्यति सन्तोषजनक देखिदैन । यसलाई तीव्र बनाएर जनता र देशले लाभ लिने गरी अघि बढाउनुपर्दछ ।


सरकारको काम कारवाहीलाई कसरी हेर्नुहुन्छ ?
आजसम्म राजनीतिक अस्थिता थियो । नेपालको इतिहासमा पहिलो पटक यति लामो समयसम्म सरकार चल्यो । यो नेपालको आन्तरिक राजनीतिमा किचलो निकालेर खेलोफड्को गर्नेहरुको दुईटै गालामा नेपाली जनताले हानेको झापड हो । प्रधानमन्त्री केपी ओलीका निर्णयहरु बोल्ड छन् । बोल्ड यस मानेमा कि उहाँका निर्णयहरु पेण्डुलम हुनु परेको छैन । रेल भन्नु भकोथ्यो, रेल त आयो त । अब विस्तारै बन्दैछन् । एकै पटक सबै देख्न पाइदैन । ठूला आयोजनाहरुका काम तीव्र गतिमा भइरहेको छ । यत्रो महामारी छ, विश्व स्तब्ध छ, नेपालमा स्तब्ध हुनुपर्ने गरी ठूलो असर परेको छैन । महामारीमा विश्व अर्थतन्त्र संकटग्रस्त छ नेपालको अर्थतन्त्र झन बलियो देखिएको छ । महामारीमा विश्व चिन्तामा हुँदा नेपालले भैरहवा विमानस्थल, मेलम्ची खानेपानी, फास्ट ट्रयाकको काम धमाधम गरिरहेको छ, रोकिएको छैन । लामो समय जर्जर भएको ठाउँमा यो भन्दा बढि के चाहियो, चाहिएकै पाउनुहुन्छ, तर समय लाग्छ । प्रधानमन्त्री ओली रातदिन खटेर काम गरेको देखिराखेको छु । यो नेपालको ऐतिहासिक घटनाक्रम पनि हो । अरु सरकार भएका भए यत्तिको प्रभावकारी, यत्तिको पारदर्शिता, यत्तिको बोल्ड निर्णयहरु पाउनुहुने थिएन । यसो भनेर म सरकारको तारिफ मात्रै गर्दिन, मेरा केही सुझावहरु पनि छन्, सरकार स्थिर भएन, नीति नियमहरु राम्रोसँग लागू भएनन्, त्यसैले विकास भएन भन्यौं, अब त्यसो भन्ने ठाउँ छैन । अबका प्रत्येक सेकेण्ड सरकारका लागि महत्वपूर्ण छ । देशमा समृद्धि र विकास जनताले भोग्न अझै पाएका छैनन् । आर्थिक समृद्धिलाई क्यास (नगद) मा रुपान्तरण गर्नु जरुरी छ । प्रजातन्त्रमा आर्थिक विकास दिन्छौं भनेर हिजो जनताको साथ खोज्यौं, तर विकास र समृद्धि टाठाबाठाहरुले मात्रै लिइरहेका छन् । यसलाई विस्तारै बदल्नुपर्ने छ । त्यसको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्षे योजना तयार गरेर सार्वजनिक गर्नुपर्दछ । विकासको श्रृंखला नै तयार गर्नुपर्दछ । विकास र समृद्धिको डेलिभरी मोडल बदल्नुपर्नेबेला भएको छ । प्रश्नको जवाफ दिन नसक्नेलाई सत्ताको वरिपरि घुम्ने अधिकार छैन । प्रधानमन्त्री ओलीले भुराभुरीको कुरा सुन्ने पनि होइन । विज्ञता हासिल गरेको, एकाडेमिक व्यक्तिहरुसँग लजिकको आधारमा बहस गर्ने र उपयुक्त कुराहरु लागू गर्दै जानु पर्दछ । वर्तमान केपी ओली नेतृत्वको सरकार गठन भएपछि मुलुकले स्थिरता पाएको छ, विकासपथमा मुलुक अघि बढेको पनि छ तर यो गति पर्याप्त होइन ।

———————0-0-0——————————

म सरकारको तारिफ मात्रै गर्दिन, मेरा केही सुझावहरु पनि छन्, सरकार स्थिर भएन, नीति नियमहरु राम्रोसँग लागू भएनन्, त्यसैले विकास भएन भन्यौं, अब त्यसो भन्ने ठाउँ छैन । अबका प्रत्येक सेकेण्ड सरकारका लागि महत्वपूर्ण छ । देशमा समृद्धि र विकास जनताले भोग्न अझै पाएका छैनन् । आर्थिक समृद्धिलाई क्यास (नगद) मा रुपान्तरण गर्नु जरुरी छ । प्रजातन्त्रमा आर्थिक विकास दिन्छौं भनेर हिजो जनताको साथ खोज्यौं, तर विकास र समृद्धि टाठाबाठाहरुले मात्रै लिइरहेका छन् । यसलाई विस्तारै बदल्नुपर्ने छ ।

———————0-0-0——————————

 

जनताले लाभ पाउने गरी विकास देखिन के गर्नुपर्ला ?
देश विकासको २० वर्षे योजना बनाउनु पर्दछ । देशभित्र भएका अनुभवी व्यक्तिहरु विदेशमा बसी अनुभव प्राप्त जनशक्तिको पहिचान गरी उनीहरुलाई साथ लिएर अघि बढ्नु पर्दछ । दक्ष जनशक्तिको थिङ्क ट्याङ्क बनाएर राजनीतिक योजना र प्राविधिक योजनालाई फ्युजन गरेर मौलिक विकास रणनीति बनाउन आवश्यक छ । देश विकासको लागि अल्पकालिन, तत्कालिक, मध्यकालिन र दीर्घकालिन योजनाहरु तर्जुमा गर्नुपर्दछ । जनतामा विकासप्रति जोश जाँगर बनाउनुपर्दछ । जनतालाई सरकारले अघि सारेको विकास योजनाको समर्थनमा स्वतःस्फूर्त स्वयम् सेवाको भाव जगाउनु पर्दछ । सबै पार्टी, संघ संस्था, स्थानीय जनतालाई विकासप्रति एकताबद्ध बनाउन आवश्यक छ ।

नेपालको विकासको बाधक कसलाई देख्नुहुन्छ ?
एउटा कुनै ठूलो विकास आयोजना सुरु गर्ने भनेर हल्ला मात्रै चल्नु पर्दछ, भूमाफिया त्यही पुग्छ, दलालहरु त्यही पुग्छन् । सरकारलाई जग्गाको मुआब्जा दिएर अधिग्रहण गर्नै समस्या । बल्ल विकासको लागि ठेक्का लाग्ने भयो भनेपछि चुल्ठेमुन्द्रेहरुको भिड त्यही लाग्छ । हरेक पार्टीका टोलेहरुलाई चन्दा दिनुपर्ने अवस्था छ । विकास आयोजना बन्न खोज्ने वित्तिकै राजनीतिक समुह त्यही पुगेर अड्को थाप्छ, एउटा एक थोक माग्छ अर्कोले अर्को चिज माग्छ, बास्तवमा विकासका अबरोध पु¥याउने कल्चर नै बनेको छ । यसको समूल नष्ट गर्न ठोस योजना बनाउनु पर्दछ । त्यसलाई चिर्न सबैभन्दा पहिला सरकार, राजनीतिक पार्टी, सरकारी अंगहरु र राजनीतिक पार्टीे संगठनभित्रका सबैलाई प्रतिबद्ध बनाउनु पर्दछ । विकास आयोजनामा भ्रष्टाचार गरेको वा चन्दा लिएको थाहा पाएमा प्रचलित कानुनभन्दा दोब्बर सजाय र जरिवनाको व्यवस्था गर्नुपर्दछ ।

अन्त्यमा……,
प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति मेरो पूर्ण समर्थन छ । सरकारलाई यहाँसम्म ल्याएर प्रम ओलीले एउटा इतिहास त रचिसक्नु भएको छ अब अर्को इतिहास विकास र समृद्धि ल्याएर रच्नुहोला, मेरो शुभकामना र आशिर्वाद दुवै छ । अहिलेको घिस्रिने आर्थिक विकासबाट अब उफ्रिने आर्थिक विकासका लागि तयार हुनुपर्दछ । त्यसको लागि योजना बनाउने र लगानी जुटाउने काम गर्न सफल हुनुभयो भने उहाँको अर्को इच्छा पनि पूरा हुन्छ जस्तो लाग्दछ । पहिलो सुझाव सहि र बस्तुवादी योजना बनाउनु पर्दछ । दोस्रो योजनाको कार्यान्वयनमा इमान्दारिता हुनुपर्दछ । बौद्धिक जमातहरुलाई थिङ्क ट्याङ्कको रुपमा विकास गरेर उनीहरुसँग नियमित अन्तरक्रिया सरकारले गर्नुपर्दछ । थिङ्क ट्याङ्कहरुले पनि व्यक्तिगत, राजनीतिक र समुहगत लाभ छोडेर सिंगो देश र जनतालाई हेरेर सरकारलाई सुझाव दिनुपर्दछ । सबै जनता इमान्दार बनौं, आर्थिक समृद्धि अब नजिकै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*