बिप्लवको गाउँमा भेटियो ब्यारेक हान्ने तागतका पाँच हतियार

समाज अनलाइन
;
१ मंसिर २०७६, आईतवार १०:०३

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवको गाउँमा नेपाली सेनासँग लड्ने तागतका पाँच थान हतियार भेटिएको छ । अत्याधुनिक एसएमजी पाँच थान फेला पारेको घटनालाई नेपाल प्रहरीले आफ्नो सफलताको रुपमा चर्चा गरेपनि नेपाली सेना भने सशंकित हुन पुगेको छ ।

महासचिव बिप्लवको गाउँ कपिलवस्तु जिल्लाको शिवनगर हो । उक्त स्थानबाट प्रहरीले ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागेजिन र गोली बरामद गरेको छ । प्रहरीले सयौं राउण्ड गोली बरामद गरेको हो । नेपाल प्रहरीको विशेष सूचनाको आधारमा बरामद भएको सो हतियार विद्रोही नेकपाले भित्राएको आशंका गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरोको सुपरीवेक्षणमा दाङ जिल्लाको गढवा र कपिलवस्तुको शिवनगर नगरपालिकाको सीमानामा रहेको गोठबाट शुक्रबार साँझ ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको हो ।

प्रहरीले भारतबाट नेपाल भित्राइदै गरेको हतियार रातो सुटकेसमा राखेर नेपालतर्फ ल्याउँदै गर्दा फेला पारेको जनाइएको छ ।
दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहका अनुसार बेवारिसे अवस्थामा ति हतियार फेला परेका हुन् । अत्याधुनिक हतियारको तेस्रो बजार मूल्य मात्रै करोडभन्दा माथिको भएको बुझिएको छ । सरकारले प्रतिबन्ध नै लगाएको विद्रोही नेकपा वर्तमान संविधान र शासन व्यवस्था नै अस्वीकार गर्दै भन्दै एकीकृत जनक्रान्तिको मार्गमा अघि बढिरहेको छ ।

बेवारिसे अवस्थामा फेला परेको भनिएको सो हतियार बिद्रोही नेकपाको भएको प्रहरीको दावी छ । प्रहरीले विशेष सूचनाको आधारमा पछ्याउँदै जाँदा बेवारिसे अवस्थामा हतियार मात्रै भेटिएको जनाएको छ । नेपाली सेनासँग मात्रै भएको सो अत्याधुनिक हतियार सेना लक्षित भएको हुनसक्ने नेपाली सेनाको आशंका छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *