ओली सरकारको दुई तिहाई गुम्दै, नौ मत नपुग्ने

दुई तिहाई पुर्याउन राजपालाई सरकारमा ल्याउने चर्चा
समाज अनलाइन
;
९ पुष २०७६, बुधबार ००:५९

काठमाडौं । संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिने निर्णय गरेसँगै बाम नेतृत्वको नेकपा सरकारले दुई तिहाई गुमाएकोछ । यद्यपि सो पार्टीले भोलि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने सम्बन्धमा निर्णय गर्दैछ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधनको प्रस्तावमाथि गम्भिर विवाद उत्पन्न भएपछि उनको पार्टीले मंगलबार सरकार छोड्ने निर्णय गरेको छ ।

पार्टीको निर्णयसँगै उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले पदबाट राजिनामा गरेका छन् । प्रतिनिधि सभामा १७ सिट भएको यादव नेतृत्वको संघीय समाजवादी सरकारबाट बाहिरिएपछि ओली सरकारले दुई तिहाईको हैसियत गुमाएको छ ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुर्याउन सरकारको पक्षमा १ सय ८३ जना सांसद आवश्यक पर्नेमा नेकपासँग १ सय ७३ र एक जना स्वतन्त्र हृदयश त्रिपाठी सहित कूल १७४ जना सांसद हुने भएको छ । दुई तिहाईको लागि नौ मत नपुग्ने भएको हो ।

समाजवादी पार्टीको समर्थन सरकारलाई रहिरहने वा नरहने भन्नेबारे बुधबार निर्णय गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए । उता, केही अघि आगामी निर्वाचनमा तालमेल गरेको राष्ट्रिय जनता पार्टी सरकारमा आउने र दुई तिहाई कायमै रहने चर्चा पनि चलिरहेको छ । यद्यपि सो सम्बन्धमा निर्णय भइनसकेको तर प्रयास भएको नेकपा निकट एक नेताले बताए ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *